शनिवार, 29 सितंबर 2012

................

लघु कथा : जोईटिङ्रे अमेरिका

लोग्नेको दश पाँचको नोकरीले जिविका नचल्ने देखेपछि स्वास्नीले अमेरिका जाने चाँजोपाँजो मिलाइ । लोग्नेले पनि कुनै नाइनाँस्ती गरेन । स्वास्नीको इच्छामा ल्याप्चे ठोक्यो ।

काम सुरु गरेको खबर आयो ऊ अमेरिका पुगेर । विस्तारै डलर घरमा भित्रियो । घरको रंगरोगन फेरियो । ग्याँस , रङ्गिन टेलिभिजन , फ्रिज, कम्प्युटर जस्ता भौतिकबस्तुहरूले पुरै भरियो घर । फेसबूक स्काईप लोग्ने स्वास्नीको
 सम्पर्कको भरपर्दो माध्यम बने । स्काईपमा भिडियो कल गरेर अनुहार हेर्दै गफगर्न पा उँदाको मज्जा व्यक्तगरि साध्य थिएन । अमेरिकाको सुख सुविधा र रमणिय वातावरणले जन्मभूमिप्रतीको मोह कम हुँदै जानथालेको थियो। स्वास्नीको गफ सुन्दा लोग्नेलाई पनि पखेंटा भए भएको थियो अहिल्यै उडेर पुग्थें झैं ।

स्वास्नीले परिवार ल्याउने फारम भरिवरी अमेरिकी दुतावासमा बुझाई । नभन्दै आफू अमेरिका छिरेको तीन वर्षभित्र लोग्ने अमेरिका भित्र्याउन सफल भइ ऊ ।

बुढी आमा छोरीसँग बसीन् । छोराले हिँड्ने बेलामा भन्यो “आमा चिन्ता नगर्नु । तपाईलाई पनि जतिसक्दो छिटो उतै तान्ने व्यवस्ता मिलाउँछु ।”

“राम्रो सँगले जा ” आमाले बिदा दिइन् । महिना दिनपछि छोरासँग फोनमा गफ भयो । उनले छोरासित सोधिन् “कस्तो रछ बाबु अमेरिका ?

छोराले भन्यो “सबै उल्टो ।” त्यति भन्नासाथ फोन काटियो ।

छोराको कुराले त्यो रात बुढी राम्ररी निदाउन सकिनन् । गाउँमा हल्ला चल्यो “गुरागाइकी छोरी अमेरिकाबाट आएकी छे ।” बुढी गुरागाइको घरमा पुगिन् । छोरी आएको खुशीमा गुरागाइनी बुढीका भूइँमा खुट्टा थिएनन् ।

बुढीले सोधिन “नानी मेरा छोरा बुहारीसँग तिम्रो भेटघाट हुन्छ ?”

“अमेरिका यहाँ जस्तो पानीपँधेरो भए पो भेट हुनु ।”

“मैले छोरालाई अमेरिका कस्तो छ बाबु भनेको ? ‘सबै उल्टो’ भन्यो । फोन काटिनाले अगाडि गफ हुन पाएन ।” गुरागाइकी छोरी खितिती…. खितिती…खित्का छोड्दै बोली “दाइले त्यसो किन भनेको भनेनी आमा, अमेरिका यहाँ जस्तो होइन सारा काम महिलाले गर्ने । पुरुष उपर खुट्टी लगाएर रमिता हेर्ने । त्यहाँ त भात पकाउने, लुगा धुने, घर पुछ्ने के पुरुष के महिला । बराबरी गर्नुपर्छ । शायद भाउजु काममा जानुहुँदो हो । दाइ घरको काम गर्नुहुँदो हो ।”

बुढी फत्फताइन ”सबै अमेरिका, अमेरिका भनेर उचालिन्थे । जावो अमेरिका त जोइटिङ्ग्रे ठाउँ पो रछ ।”

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें